धनुषा : मधेस प्रदेशसभाका नवनिर्वाचित सभामुख रामचन्द्र मण्डल र उपसभामुख बबिताकुमारी राउत इशरले पद तथा गोपनीयताको शपथ लिएका छन् । मधेस भवनमा आज उनीहरूलाई प्रदेश प्रमुख हरिशङ्कर मिश्रले पद तथा गोपनीयताको शपथ गराएका हुन् । सभामुख र उपसभामुखको शपथ कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, विना विभागीयमन्त्री सरोजकुमार यादव लगायतको उपस्थिति थियो ।मण्डल र इशर मङ्गलबार नै मधेस प्रदेशको सभामुख र उपसभामुखमा निर्वाचित भएका हुन् । मङ्गलबार बसेको प्रदेशसभा बैठकमा मण्डललाई सभामुखमा चयन गरियोस् भन्ने प्रस्तावको पक्षमा ७४ मत अर्थात् बहुमत सदस्यको समर्थन प्राप्त भएको थियो । कूल एक सय सात सदस्यीय प्रदेशसभामा एक सय तीन सदस्यले मतविभाजन प्रक्रियामा सहभागिता जनाएका थिए ।