जकपुरधाम । मधेस प्रदेशमा जनता समाजवादी पार्टी नेपालको दलको नेता चयन गर्न अधिकार पार्टी अध्यक्ष उपेन्द्र यादवलाई दिए पनि हालसम्म कुनै निर्णय हुन सकेको छैन । अध्यक्ष यादवले दलको नेता चयन नसकेपछि सो विषयमा निर्णय पुनः प्रदेश कमिटीलाई नै जिम्मा लगाएका छन् ।
पार्टीमा संसदीय दलको नेता बन्न निवर्तमान मुख्यमन्त्री राउत, निवर्तमान सभामुख यादव तथा प्रदेशसभा सदस्यहरू रामअशिष यादव, सरोज सिंह कुशवाहा, संजय यादव, शोभा साह, अब्दुल कलाम, मनिष सुमन तथा बच्चा राउत आकाङ्क्षी छन् । प्रदेशसभामा जसपा नेपालको १६ सिटसहित तेस्रो ठुलो दल बनेको छ।
अध्यक्षले प्रदेश कमिटीलाई नै दलको नेता छान्न जिम्मा दिएपछि आज फेरि जनकपुरधाममा बैठक बसेको संसदीय दलको नेता चयन गर्न गठन गरिएको समितिका संयोजक लालकिशोर साहले जानकारी दिए । संयोजक साहका अनुसार उक्त बैठकबाट सहमति नभए दलको नेता चयन गर्न निर्वाचन प्रक्रियामा जानेछ ।
दलको नेतामा निवर्तमान मुख्यमन्त्री लालबाबु राउतले आफूलाई बनाउनुपर्ने अडान राखेपछि दलको नेता छान्नको लागि सहमति गर्न झन् सकस भएका जसपाका एक सांसद बताउँछन् । प्रदेशमा गठन हुने सरकारको नेतृत्व आलोपालो गरी जसपा र जनमतले नै गर्ने तय भएपछि जसपामा दलको नेता चयन गर्न सकस भएको छ । झन् जसपाले नै पहिलो अढाई वर्ष नेतृत्व लिने भएपछि यो विषय पेचिलो बनेको हो ।