काठमाडौँ । यस पटकको निर्वाचनमा तीन र एक स्वतन्त्रसहित ४ सिट लिएर संघीय संसदमा प्रवेश गरेको छ, नागरिक उन्मुक्ति पार्टी । यस पार्टीका संस्थापक हुन्, रेशम चौधरी । पार्टीका संरक्षक रहेका चौधरी हाल डिल्लीबजार कारागारमा छन् । प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा संघमा प्रत्यक्षतर्फ तीन सिट र प्रदेशमा आठ सिट ल्याएको छ । पार्टीले समानुपातिकतर्फ अझै थ्रेस होल्ड कटाउन सकेन । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ यस पार्टीले २ लाख ७२ हजार मत प्राप्त गरेको छ । मंसिर ४ गते भएको निर्वाचनमा उनकी पत्नी एवं पार्टी अध्यक्ष रञ्जना श्रेष्ठ कैलाली निर्वाचन क्षेत्र नं १ बाट ३० हजार ४०४ मतसहित निर्वाचित भइन् । २०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनामा संलग्न भएको अभियोगमा जेल सजाय भोगिरहेका रेशमको पार्टी निर्वाचन परिणाम आएसँगै सरकारलाई समर्थन त गर्यो तर सरकारमा गएन । संघीय सरकारमा किन गएन भनेर यसबेला जनचासोको विषय छ । तर प्रदेश सरकारमा भने जाने तरखरमा छ । नागरिक उन्मुक्ति पार्टीले सरकारलाई समर्थन दिनुको कारण हामीलाई प्रचण्डले दिएको आश्वासन हो । दलहरूले दिएको वाचा नै पूरा नगरेपछि संघीय सरकारमा जानुको अर्थ रहेन । उनीहरूले मलाई जे आश्वासन दिएका थिए, त्यसमा सरासर धोका भयो । खासगरी पुष्पकमल दाहाल प्रचण्डले दिएको आश्वासन म अहिले झल्झली सम्झिरहेको छु । तपाईंलाई मन्त्री अफर आएको प्रचार सुनियो, यस्तो हुन सम्भव छ र ? भन्ने प्रश्नमा मन्त्रीको अफर त आएकै हो तर मैले नै मानिनँ उहाँको जवाफ थियो । किनकि मन्त्री बन्न मलाई उनीहरूले आफ्नो पार्टीमा प्रवेश गर्नुपर्छ भन्ने शर्त राखेका थिए । मेरो दिल र दिमागले दुवै अस्वीकार गर्यो । थारूको हकअधिकारको लागि लडेर आएको मान्छेले मन्त्रीको पदमा भुल्नुहुन्न भनेर सम्झिएँ । मैले त्यो अफर नै इन्कार गरिदिएँ । उहाँ (प्रचण्ड) ले प्रधानमन्त्रीको शपथ खानुअघि मलाई आफू सरकारमा गए २४ घण्टाभित्र निकाल्ने भन्नुहुन्थ्यो मलाई जेलमा भेट्न आउनुहुँदा । तर, जब पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको शपथ खानुभयो उहाँको बोली नै फेरियो । २४ घण्टामा मलाई रिहा गर्छु भनेको वाचा सम्झाउन उहाँलाई पटक–पटक फोन गर्दा कुनै सम्बोधन नै गर्नुभएन । यसले त हामीलाई प्रचण्डले सरासर ढाँटेको भान भएको छ । हामी त छाँगाबाट खसेजस्तो भएका छौं ।