- दिपेन्द्र रेग्मी
महोत्तरी | कुमारी आमा निहारिका राजपूत र दाईजोको निहुँमा श्रीमान सहित सासु ससुरा समेतले शारिरिक र मानसिक यातना दिएको आरोप लगाएकि नेहा चौधरी दुवै जनालाई बिहिबार प्रहरीले नियन्त्रणमा लिएको छ । नेहा र निहारिकाको समर्थनमा उत्रिएकाहरुले नाराबाजि गर्दै नेहाका पनि डा. पङ्कज चौधरीको घरमा ढुङ्गा बर्साउँदै गर्दा नेहा चौधरीसहित अर्की सहयोगी निहारिका राजपूतलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पति डा पङ्कज चौधरीको रामगोपालपुर–५ स्थित घरको मुख्यद्वारमा सहयोगी निहारिकासहित गत मङ्गलबारदेखि धर्ना दिँदै अनशनमा बसेकी नेहाले घर परिसरमा ढुङ्गा बर्साउन थालेपछि त्यहाँ बढेको तनाव रोक्न दुवैलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको हो । अनशनमा बसेका नेहा र निहारिकाले घरको मुख्यद्वारको ताल्चा नखोलिएर आपूm घरभित्र पस्न नपाएको भन्दै गत मङ्गलबारदेखि नै धर्ना बस्दै आएका थिए । धर्नामा बसेकी नेहाले निहारिकाको सहयोगमा आफुहरू धर्नामा बसेको तीन दिन भइसक्दा पनि आफ्नै घरमा पस्न नपाइएको भन्दै ढुङ्गा बर्साउन थालेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको टोली घटनास्थल पुगेको थियो । नेहा र निहारिकाले अन्य सहयोगीको साथ लिँदै प्रहरी टोलीमाथि पनि ढुङ्गा बर्साएका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले जानकारी दिए। प्रहरीले तनाव नियन्त्रण गर्न पाँच सेल अश्रुग्यास पनि फायर गरेको जनाएको छ । झडपका क्रममा चार सुरक्षाकर्मी घाइते भएका छन् । केही दिन पहिलेदेखि पति डा पङ्कज चौधरी र घरका परिवारजनले शारीरिक र मानसिक यातना दिँदै आएका आरोप लगाउँदै आएकी नेहाका पति डा पङ्कज चौधरीलाई प्रहरीले गत मङ्गलबार नै नियन्त्रणमा लिइसकेको छ । मुख्य आरोपीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइसकेको अवस्थामा नेहा र निहारिकाले कोही नभएको घरमा ढुङ्गा बर्साएर अनावश्यक बखेडा खडा गरेका प्रहरी उपरीक्षक पङ्गेनीको भनाइ छ । लामो समय प्रेमसम्बन्धमा रहेर विवाह गरेका डा चौधरी र जिल्लाकै औरही–१ माइती भएकी नेहाबीच पतिले दाइजोमा काठमाडौँमा घर किनिदिन ससुराली पक्षलाई दबाब दिएपछि सम्बन्ध बिगँ्रदै गएको नेहा पक्षको भनाइ छ । नेहा र डा चौधरीको बिग्रँदै गएको सम्बन्धबारे समाचार प्रकाशित हुँदै आएपछि कुमारी आमाको नामले चिनिने निहारिका राजपूत नेहाको सहयोगमा जुटेकी हुन् । निहारिकाको पनि उच्च अदालत जनकपुरमा पति (प्रेमी)सँगको मुद्दा विचाराधीन छ । के हो त, नेहा र डा चौधरीको विवाद ? महोत्तरीको औरही–१ घर भएकी नेहा र सोही जिल्लाको रामगोपालपुर–५ घर भएका पंकजबीच गत फागुनमा विवाह भएको थियो । विवाहको केही समयदेखि नै पर्याप्त दाइजो नदिएको निहुँमा श्रीमान् र परिवारले शारीरिक तथा मानसिक यातना दिन सुरू गरेका थिए । दसैँको टीकाको दुई दिनपछि नेहालाई श्रीमान्को टोकाइ र कुटपिटबाट थिलथिलो भएको अवस्थामा माइतीले उद्धार गरेर अस्पताल पु¥याएका थिए । यो विषयले मिडियामा स्थान पाएपछि डा. पंकजको चौतर्फि विरोध र नेहाको समर्थनमा आवाजहरु उठ्न थाल्यो । श्रीमान्बाट दाइजोको निहुँमा घरेलु हिंसामा परेकी नेहा चौधरी गत मंगलबार घर गएपनि उनलाई पस्न दिइएन । त्यसपछि उनी घरको मूलढोकाअघि धर्ना दिएर बसिन् । त्यसपछि प्रहरीले बाध्य भएर पंकजलाई पक्राउ गरेको महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले पुष्टि गरे । उनले घरेलु हिंसा र दाइजोविरुद्धका मुद्दामा पंकजलाई पक्राउ गरेको स्पष्ट पारे । अहिले घरको गेटमा ताला झुण्डिएको छ । प्रहरीले कानून बमोजिम पक्राउ गर्नुपर्ने सबैलाई पक्राउ गर्ने बताएपनि पंकज पक्राउ परेपछि उनका परिवारका अन्य सबै सदस्यहरु फरार रहेका छन् । गत फागुनमा महोत्तरीकै औरही नगरपालिका १ की नेहा र डा. पंकजबीच विवाह भएको थियो । विवाहमा नेहाका परिवारले नगद र सुनचाँदी गरी १ करोड बढी रुपैयाँ दाइजो दिएको नेहाको परिवारको दावि छ । तर पनि डा चौधरीको परिवारले अझ धेरै दाईजो माग गर्दै नेहालाई शारिरिक र मानसिक पिँडा दिएको उनको दावि छ । नेहाले ‘श्रीमान् पंकजलाई मात्र पक्राउ गरेर नहुने, आँफुलाई कुटपिट गर्ने र घर निकाला गर्नेमा सासू–ससुरासहित उनको परिवारका सबै सदस्य संलग्न भएकोले उनीहरूलाई पनि पक्राउ गरी कारबाही गर्नुपर्ने माग राखेकि छिन् । कुमारी आमा निहारिका राजपुतको केशमा के भएको थियो ? के हुँदैछ ? निहारिकाको मुद्दामा जिल्ला अदालत धनुषाले २४ माघ ०७८ मा फैसला गरेको थियो ।

त्यतिवेला जिल्ला न्यायाधीश परशुराम भट्टराईले श्रेष्ठविरुद्ध जबर्जस्ती करणीको अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएका थिए । फैसला हेर्दा पीडितकै कागजातलाई न्यायाधीशले फैसलाको आधार बनाएको देखिन्छ । जाहेरी दिनुअघि जिल्ला प्रहरी कार्यालय धनुषामा पीडितले दुईपटक निवेदन चढाएको देखिन्छ । जहाँ उनले आरोपीसँगको आफ्नो सम्बन्धलाई ‘श्रीमान्–श्रीमती’ भनेर उल्लेख गरेकी छिन् । त्यसैलाई उल्लेख गर्दै अदालतको फैसलामा भनिएको छ, ‘यो जाहेरी पर्नुपूर्व पीडितले ०७६ माघ १९ गते ‘नारी अस्मिताको रक्षा गरी जीवन रक्षा गरी पाऊँ’ भन्ने निवेदन जिल्ला प्रहरी कार्यालय धनुषामा दिएको र अर्को निवेदन सोही कार्यालयमा ०७६ फागुन ११ गते ‘हक–अधिकार दिलाइपाऊँ’ भनी दिएको देखिन्छ । निवेदनमा जाहेरीवाली र प्रतिवादी श्रीमान्–श्रीमती हो भनिएको छ । जाहेरी पर्नुपूर्व दिइएका यी निवेदनमा जबर्जस्ती करणी भएको भन्ने विषयमा केही पनि उल्लेख गर्नुभएको देखिँदैन । हस्पिटलमा प्रेग्नेन्सी टेस्ट (गर्भ परीक्षण) गराउँदा पनि श्रीमान्–श्रीमती लेखाएको देखिन्छ भने निजले शारीरिक परीक्षण गराउँदा पनि प्रतिवादीसँग म सात–आठ महिनादेखि शारीरिक सम्पर्कमा रहेको भनी उल्लेख गरेको पाइन्छ । पीडितको जाहेरी र अदालतमा भएको निजको बकपत्रमा समेत जबर्जस्ती करणी गरेको हो भनी व्यक्त गरेको भए पनि जाहेरीमा उल्लेखित व्यहोरा र अदालतमा भएको बकपत्रको व्यहोरा नमिली परस्परमा बाझिएको र जाहेरीमा उल्लेख गरेभन्दा बढी कुरा अदालतमा लेखाएको पाइन्छ ।’ जाहेरीवालाले जाहेरीमा भनेको कुरा र अदालतमा भएको निजको बकपत्रमा एकरूपता नभएको नभन्दै न्यायाधीश भट्टराईले फैसलामा भनेका छन्, ‘प्रतिवादीका साक्षी र स्वयं वादीको घटना विवरण र घटनास्थल मुचुल्कामा बस्ने साक्षीसमेतले प्रतिवादी निर्दोष छन् भनी अदालतमा बकपत्र गरेको र प्रतिवादी स्वयंले पनि जबर्जस्ती करणी गरेकोमा इन्कारी बयान गरेको अवस्था हुँदा यो जबर्जस्ती करणी मुद्दा स्वतन्त्र भरपर्दो प्रमाणको अभावमा स्थापित हुन सक्ने देखिएन । तसर्थ, प्रतिवादीले अभियोग दाबीबमोजिम कसुर अपराध गरेको मान्न र भन्न नमिल्ने हुँदा प्रस्तुत मुद्दाबाट निज प्रतिवादी शिवराज श्रेष्ठले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ ।’ तर, यो फैसलाले निहारिकाको बच्चाको हकमा भने छुट्टै कानुनी उपचार सुझाएको छ । ‘जाहेरवाली र प्रतिवादीको सम्बन्धको विषयमा र यी जाहेरवालीबाट जन्म भएको बच्चाको हकमा छुट्टै कानुनी उपचारबाट सम्बोधन प्राप्त हुने नै हुँदा यस मुद्दाको रोहबाट बोलिरहनुपरेन,’ फैसलामा उल्लेख छ । यता निहारिकाले भने जिल्ला प्रहरी कार्यालयमा ‘श्रीमान्–श्रीमती’ भनेर परेको निवेदनको हस्ताक्षर पनि आफ्नो नभएको बताउँदै आइरहेकी छिन् ।
नेहरिकाको भिडियो समाचार हेर्नको लागि यो लिंकमा क्लिक गरेर हेर्नुहोला र सामाजिक संजालमा पनि शेयर गर्न नभुल्नुहोला |