काठमाण्डौ | काठमाडौं महानगरपालिकाले परम्परागत बाजा गुरु तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट व्यक्ति एवं समुहलाई सम्मान गरेको छ । २८ औं महानगर दिवसको अवसर पारि काठमाण्डौ महानगर भित्र रहेका विभिन्न ६३ टोल समुदायका परम्परागत बाजाहरुको जगेर्नामा जुटिरहेका एवं बाजा निर्माणसँगै त्यसलाई बजाउन समेत सिकाईरहेका गुरुहरुलाई सम्मान गरेको हो । सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको सम्मान कार्यक्रममा महानगरपालिकाका मेयर बालेन्द्र शाहको अध्यक्षता रहेको थियो । महानगरपालिकाले सम्मानित व्यक्तिहरुलाई सम्मान सहित वार्षिक ३० हजार रुपैयाँ पनि प्रदान गर्ने जनाएको छ । महानगर दिवसका अवसरमा सम्पदा महोत्सवसहित सप्ताहव्यापी कार्यक्रमहरु भैरहेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो । वि.सं. २०५२ को मङ्सिर २९ गते तत्कालीन काठमाडौँ नगरलाई महानगर घोषणा गरेपछि हरेक वर्ष मङ्सिर २९ गतेका दिनलाई महानगर दिवसको रुपमा मनाउने गरिएको हो ।