logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

०७४ मा जितेका २१ मध्ये कांग्रेसले एउटा गुमायो, थप १२ सिट गुमाउने खतरा

०७४ मा जितेका २१ मध्ये कांग्रेसले एउटा गुमायो, थप १२ सिट गुमाउने खतरा


  • बुधबार, मंसिर ७ २०७९

  • काठमान्डौ । जारी मत गणनानुसार सत्तारुढ नेपाली कांग्रेसले २०७४ मा बाम गठबन्धनका बाबजुद जितेका २१ मध्ये एउटा सिट गुमाएको छ भने १२ सिट गुमाउने सङ्केत देखिएको छ । तत्कालीन एमाले– माओवादी र फोरम–राजपा गरी दुवै गठबन्धनका बाबजुद कांग्रेसले २१ निर्वाचन क्षेत्रमा जित निकालेको थियो । अहिले पाँच दलीय गठबन्धनका साथ चुनावी प्रतिस्पर्धामा उत्रिएको कांग्रेस ०७४ मा जितेका निर्वाचन क्षेत्रमै पछाडि परेको हो । अहिले कांग्रेसबाट दोहोरिएका ८ र नयाँ ४ जना र नेकपा एकीकृत समाजवादीले लिएको १ क्षेत्रमा सत्ता गठबन्धन पछाडि परेको छ । बर्दिया १ मा भने कांग्रेस र नागरिक उन्मुक्ति पार्टीबीच प्रतिस्पर्धा चलिरहेको छ । काठमाडौँ–६ मा कांग्रेसका भीमसेनदास प्रधान पराजित भएका छन् । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल जित नजिक छन् भने एमालेका सर्वेन्द्र खनाल दोस्रो स्थानमा छन् । ७० र ७४ मात जितेका प्रधान तेस्रो हुन पुगेका छन् । बारा – १ मा कांग्रेस सह–महामन्त्री उमाकान्त चौधरी निकै पछाडि परेका छन् । यहाँ एमाले–जसपाका साझा उम्मेदवार अच्युतप्रसाद मैनालीले सत्ता गठबन्धनका चौधरीलाई करिब ४ हजार मतान्तरले पछाडि पारेका हुन् । २०५६ मा बारा १, ०६४ मा बारा ५ र ०७४ मा बारा १ बाट भएका उनी अहिले पराजित दिशामा छन् । कपिलवस्तु – ३ मा पनि कांग्रेसका अभिषेकप्रताप साह पछाडि परेका छन् । एमालेका मंगलप्रसाद गुप्तासँग उनी २ हजार मतान्तरले पछाडि छन् । अन्तरिम व्यवस्थापिका सदस्य २०६३ देखि संसद् यात्रा ब्रेक लाग्ने सङ्केत देखिएको छ । उनी ०६४ मा र ०७० मा कपिलवस्तु ५ बाट र ०७४ कपिलवस्तु ३ बाट निर्वाचित भएका थिए ।

    संसदीय निर्वाचनमा डबल ह्याट्रिक गरेका कांग्रेसका नेता विजयकुमार गच्छदारको संसद् यात्रामा पनि ब्रेक लाग्ने भएको छ । सुनसरी – ३ मा एमालेकी भगवती चौधरी अग्रस्थानमा हुँदा दोस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका कमल बाबु मैनाली छन् । भगवती र गच्छदारको मतान्तर १ हजार भन्दा बढी छ । २०४८, ०५१, ०५६, ०६४, ०७० र ०७४ मा निर्वाचित उनी यसपटक रोकिने सङ्केत देखिएको छ । सुनसरी – २ मा कांग्रेसका सिताराम मेहता पनि तेस्रो स्थानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका लालविक्रम थापा अग्रस्थानमा छन् भने एमालेका भीम आचार्य दोस्रो स्थानमा छन् । ०६४ र ०७० मा सुनसरी ४ तथा ०७४ मा सुनसरी २ बाट प्रत्यक्ष चुनाव जितेर ह्याट्रिक गरेका मेहता यसपटक रोकिने सङ्केत देखिएको छ । सुनसरी – ४ बहालवाला सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि लिड गर्न नसकेको अवस्था छ । उनी एमालेका जगदिशप्रसाद कुसियैतसँग ५ सयभन्दा बढी मतान्तरले पछाडि छन् । ०७४ मा सुनसरी ४ बाट पहिलो पटक प्रत्यक्ष चुनाव जितेका कार्कीलाई दोस्रो जितका लागि कडा संघर्ष गर्नु परेको छ । रुपन्देही – ४ मा चुनाव जितेका प्रमोद यादव पनि चुनाव हार्ने सम्भावना बढेको छ । ०७४ मा कांग्रेस प्रवेश गरे लगत्तै उम्मेदवार बनेर होटल, पेट्रोलियम व्यवसाय तथा रियलस्टेट व्यवसायी यादवले चुनाव जितेका थिए । अहिले उनी लोसपाका सर्वेन्द्रनाथ शुक्लासँग करिब ४ हजार मतले पछाडि परेका छन् ।
    रुपन्देही – ५ भरत शाहको संसद् यात्रा पनि ब्रेक लाग्ने सङ्केत देखिएको छ । जारी मत गणनामा एमालेका वासुदेव घिमिरेसँग उनी करिब ६ हजार मतान्तरले पछाडि छन् । २०५६, २०७० र ०७४ मा रुपन्देही ५ बाटै निर्वाचित शाहको यात्रामा घिमिरेले ब्रेक लगाउने सम्भावना बढेको छ । ०७४ मा बाम गठबन्धनलाई पराजित गरेका उनी अहिले ६ दलीय गठबन्धनको साझा उम्मेदवार हुँदा पनि चुनाव हार्ने दिशामा छन् ।
    मोरङ – २ मा ०७४ मा कांग्रेसका मिनेन्द्र रिजालले बाम गठबन्धनका बाबजुद पनि चुनाव जितेका थिए । मोरङका ६ वटा निर्वाचन क्षेत्र मध्ये कांग्रेसले ५ वटा गुमाउँदा रिजालले २ नम्बरमा एमालेका ऋषिकेश पोखरेललाई पराजित गरेका थिए । अहिले रिजाललाई रोकेर कांग्रेस सुजाता कोइरालालाई मैदानमा उतारेको छ । उनी एमालेका पोखरेलसँग करिब १ हजार मतले पछाडि परेकी छिन् । ०६४ मा प्रत्यक्ष चुनाव लडेर हारेकी सुजातालाई पहिलो जितको खोजीमा संघर्षरत छिन् ।
    नवलपरासी– २ मा पनि देवेन्द्र कँडेलले हार नजिक पुगेका छन् । राप्रपाका ध्रुवबहादुर प्रधान जित नजिक हुँदा एमालेका दिपेन्द्रकुमार अधिकारी दोस्रो स्थानमा छन् । ०७४ मा सहज जित निकालेका कँडेल अहिले तेस्रो स्थानमा पुगेका छन् । उनी प्रधानभन्दा करिब ७ हजार मतान्तरले पछाडि छन् । कँडेल २०५१, ०५६ र २०७४ मा नवलपरासीबाट निर्वाचित भएका थिए । यस पटक भने उनी रोकिने पक्का जस्तै छ ।
    रौतहट – २ मा पनि कांग्रेस पछाडि छ । स्वतन्त्र उम्मेदवार किरणकुमार साहले कांग्रेसका फिर्दोस आलमलाई सुरुवातीदेखि नै पछाडि पारेका छन् । यसअघि यहाँ फिर्दोसका बुबा अफताव आलम निर्वाचित भएका थिए । कर्तव्य ज्यान मुद्दामा अफताव जेल परेपछि कांग्रेसले फिर्दोसलाई उम्मेदवार बनाएको थियो ।
    सर्लाही – ४ मा कांग्रेसका नागेन्द्र राय पनि पछाडि परेका छन् । ०७४ मा कांग्रेसबाट चुनाव जितेका अमरेशकुमार सिंह अगाडि छन् । कांग्रेसबाट कारबाहीमा परेका सिंहले नागेन्द्रलाई चुनौती दिएको अवस्था छ । सिरहा– १ मा प्रदीप गिरिले जितेका थिए । त्यहाँ यस पटक नेता गिरिको निधन भएपछि कांग्रेसले उम्मेदवारी नै दिएको छैन । गठबन्धनबाट एकीकृत समाजवादीका धर्मनाथ साह उम्मेदवार छन् । एमाले–जसपा गठबन्धनबाट जसपाका वीरेन्द्रसिंह महतो अगाडि छन् । ०७४ मा चुनाव जितेका कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, प्रकाशमान सिंह, मोहन आचार्य र राजेन्द्र केसी यसपटक पनि निर्वाचित भएका छन् । उदयपुर – १ मा नारायण खड्का, सप्तरी– ४ मा तेचुलाल चौधरी, रौतहट – ४ मा देवप्रकाश तिमिलसिना, नवलपुर– २ मा शशांक कोइराला, बर्दिया – १ मा सञ्जय गौतम अगाडि छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय