काठमाडौं । प्रदेश १ सरकारले विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा थप १०० शय्या बिस्तार गर्ने जनाएको छ । पछिल्लो समय लक्षणसहितका संक्रमितहरु बढेसँगै आइसियु, भेन्टिलेटर र अक्सिजनलगायतका आवश्यक स्वास्थ्य पूर्वाधारसहितको शैय्या बिस्तार गर्न लागिएको हो ।
तिहारअघि नै स्वास्थ्य पूर्वाधारसहितको कोभिड अस्पताल सञ्चालनका गर्ने गरी प्रदेश सरकारले हाल निमार्ण कार्यलाई तीव्रता दिएको छ ।
विराटनगर महानगरपालिका–१० स्थित कोभिड–१९ उपचार केन्द्रको पछाडिको खाली संरचनामा विस्तार भइरहेको अस्पतालको निर्माण कार्य अन्तिम चरणमा पुगेको महानगरले जनाएको छ । सो अस्पतालमा ३५ वटा एचडियु र ६५ वटा जेनरल आइसियु शय्या रहनेछन् ।
प्रदेश सरकार र नागरिक केयर सेन्टरको संयुक्त लगानीमा विस्तार भइरहेको कोभिड अस्पतालको हालसम्म ७५ प्रतिशत काम सम्पन्न भइसकेको जनाइएको छ ।