काठमाडौं । जिल्ला प्रशासन कार्यालय गोरखाले तिहारको समयमा देउसी भैलो खेल्न प्रतिबन्ध लगाएको छ ।
कोराना भाइरस संक्रमण फैलिने जोखिम रहेको भन्दै तिहारको समयमा देउसी भैलो खेल्ने, नाचगान गर्ने, पिङ हाल्ने र खेल्ने नगर्न प्रशासन कार्यालयले आग्रह गरेको छ ।
तिहार आफू र आफ्नो परिवारसँगै मनाउन र विगतमा जस्तो आफन्तकोमा जाने, भिड गर्ने काम नगर्न निमित्त प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले आग्रह गर्नु भएको छ ।
यस्तै जुवातास खेल्ने, पटका, आतिशवाजी र भुइचम्मा जस्ता विस्फोटक पदार्थ बिक्री र प्रयोग नगर्न पनि प्रशासन कार्यालयले आग्रह गरेको छ । धार्मिक स्थल जस्तै चर्च, मस्जिद, गुम्बाहरुमा भेला भई कार्यक्रम गर्ने, प्रार्थना गर्ने, संगती गर्ने काम पनि नगर्न भनिएको छ ।
कुनै मेला आयोजना गर्ने, बजारमा भिड गर्ने काम नगर्न, सामाजिक दूरी कायम गर्न, मास्क लगाउन र बेला बेलामा साबुन पानीले हात धुन पनि अनुरोध गरिएको छ ।