काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जस्तोसुकै अवस्था आए पनि नेकपा नफुट्ने बताउनु भएको छ । ग्रामथान गाउँपालिकामा आज आयोजित एक कार्यक्रममा मुख्यमन्त्री राईले नेकपा फुट्ने हल्ला निराधार रहेको बताउनु भएको छ ।
राष्ट्र निर्माण विरोधी शक्तिहरुले देश र विदेशमा नेकपा फुट्ने निराधार हल्ला फैलाएको उहाँले बताउनु भयो । प्रदेशलाई समृद्ध प्रदेश निर्माणका लागि दीर्घकालिन ठूला योजनाहरु ल्याएर काम भइरहेकाले चाँडै प्रतिफल प्राप्त हुने मुख्यमन्त्री राईको भनाइ थियो ।
यस्तै, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का नेता माधवकुमार नेपालले नेकपा फुटाउने सपना नदेख्न आग्रह गर्नु भएको छ । धुम्बाराही बैठकपछि बाहिरिनेक्रममा उहाँले यस्तो प्रतिक्रिया दिनु भएको छ ।
यता, विवादको चरम उत्कर्षबाट गुज्रिएको सत्तारुढ दल नेकपाका नेताहरूको विभिन्न घटनाक्रमहरू माथि विभिन्न प्रतिक्रियाहरूको ओइरो लाग्न थालेको छ ।
यसैक्रममा नेकपाका नेता भीम रावलले नेकपाको आन्तरिक राजनीतिमा राष्ट्रपति सक्रिय भएकोप्रति आपत्ति जनाउनु भएको छ । उहाँले सामाजिक सञ्जाल ट्विटरमा यो कार्य राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लंघन, स्थापित प्रणालीको अवज्ञा भएको जनाउनुभएको हो ।
उहाँले राष्ट्रपतिको सक्रियताले नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने भन्दै यो कार्य गलत कार्य ठहरिने पनि बताउनुभयो ।