काठमाडौँ । उपत्यकामा सार्वजनिक सवारी साधनको भाडा तथा रुट निर्धारण गर्ने अधिकारसहितको उच्चस्तरीय पूर्वाधार निर्माण विकास समिति गठन हुने भएको छ । मन्त्रिपरिषदले हालै स्वीकृत गरेको समितिसम्बन्धी गठन आदेशअनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको अध्यक्षतामा प्राधिकरण गठन हुनेछ ।
समितिलाई उपत्यकामा चल्ने सार्वजनिक सवारीको रुट तथा त्यसको भाडादर निर्धारण गरी कार्यान्वयनका लागि सरकारलाई सिफारिस गर्ने अधिकार दिइएको छ ।
काठमाडौं उपत्यका सार्वजनिक यातायात सम्बन्धमा अवलम्बन गर्नुपर्ने अल्पकालीन तथा दीर्घकालीन नीति, योजना र रणनीतिको मस्यौदा तयार गर्ने अधिकार पनि समितिलाई दिइएको छ । काठमाडौंमा एकीकृत यातायात प्रणालीको विकास र सञ्चालन सम्बन्धमा आवश्यक अध्ययन अनुसन्धान गर्ने अधिकार पनि समितिलाई दिइएको छ ।
काठमाडौं उपत्यकामा विद्युतीय प्रणालीमा आधारित एकीकृत प्रणाली, नगदविहीन भाडा प्रणाली र विद्युतीय टिकट प्रणालीको विकास गर्न अध्ययन पनि समितिले गर्नेछ ।