काठमाडौं । कोभिड १९ महामारीको उपचारका क्रममा अस्पताल प्रशासनले आफ्ना माग र सुरक्षामा कुनै ध्यान नदिएको भन्दै वीर अस्पतालको आकस्मिक कक्षका १७ जना मेडिकल अधिकृतहरुले सामूहिक राजीनामा दिएका छन् ।
महामारीमा काम गर्दा आफ्ना मागहरु पेस गरिरहँदा पनि बेवास्ता गरेको, आवश्यक सुरक्षा सामग्री उपलब्ध नगराएको, ज्यालादारी भनेर अपमानित गर्दै दसैँतिहार भत्ता समेत नदिएकाले हाम्रो मनोवल गिरेको भन्दै चिकित्सकहरुले आज राजीनामा दिएका हुन् ।
धम्कीसहित जवरजस्ती हप्ताको ९६ घण्टासम्म ड्युटी गराएको तर, सेवा सुविधा उपलब्ध नगराएको पनि चिकित्सकहरुले राजीनामा पत्रमा उल्लेख गरेका छन् । तर, अहिले वीर अस्पतालको आकास्मिक सेवाभने सञ्चालनमै छ । राजीनामा पत्र बुझाए पनि राजीनामा स्वीकृत नभएसम्म काम जारी राख्ने उनीहरुले बताएका छन् ।
दसैँ नजिकिँदै गर्दा वीर अस्पतालका चिकित्सकहरुले गत २ कात्तिकमा पनि आन्दोलन गरेका थिए । सुरक्षा र कोभिड भत्ताको माग राख्दै १५ दिने म्याद राखेर लिखित माग प्रस्तुत गरिए पनि कुनै सम्बोधन नभएपछि उनीहरुले आन्दोलन गरेका थिए ।
अस्पतालका डाइरेक्टर डा. केदार सेन्चुरीले भने डाक्टरहरुले काम गर्दैनौँ भन्न नमिल्ने बताउनुभएको छ । उहाँले माग सम्बोधनको विषयमा पदाधिकारीहरुबीच छलफल भइरहेको बताउनुभयो ।