काठमाडौं । कर्णालीका जिल्लाहरूमा चामल ढुवानीमा हुने अनियमितता अध्ययन गर्न प्रदेश सरकारले पाँच सदस्यीय अनुगमन समिति गठन गरेको छ ।
आज मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन समिति बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव कृष्णप्रसाद आचार्यको अध्यक्षतामा समिति गठन गरेको हो ।
सरकारकी प्रवक्ता रहेकी कृषिमन्त्री विमला केसीका अनुसार समितिमा नेपाल प्रहरीका प्रदेशप्रमुख, मुख्यमन्त्री कार्यालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका एकरएक जना प्रतिनिधि र सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी सदस्य छन् ।
समितिलाई ढुवानी अनुदानको चामल अन्यत्रै बिक्री हुने गरेको घटना छानबिनका साथै समग्र ढुवानी व्यवस्थाको अनुगमन गर्न जिम्मेवारी दिइएको मन्त्री केसीले बताइन् ।