काठमाडौं । सत्तारुढ दल नेकपाभित्र देखिएको विवाद विभाजनसम्म पुग्ने आशंका व्यक्त भइरहेको छ । पार्टीका दुई अध्यक्षमा देखिएको चरम असमझदारीको शिकार नेकपा हुन लागेको भन्दै कार्यकर्तामा निराशा छाएको छ ।
मन्त्रिपरिषद् विस्तार, राजदूतहरुको नियुक्ति, भारतीय जासूसी संस्थाका प्रमुख सामन्त गोयलसँगको भेटवार्ता, कर्णाली प्रदेशमा देखिएको समस्या लगायका विषयले नेकपाको विवाद उत्कर्षमा पुगेको छ ।
यसैबीच प्रधानन्त्रीसमेत रहेका केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहमतिमै पार्टी फुटाउँ भन्ने प्रस्ताव राखेको ब्रिफिङ उहाँले झलनाथ खनाल माधवकुमार नेपाललगायतका सचिवालयका नेताहरुसँग राख्नु भएको थियो ।
जसको पुष्टि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले गरिसकेका छन् । नेकपामा देखिएको पछिल्लो विवादले पार्टी फुट्ने संशय नेकपाका नेता कार्याकर्तामा रहेको छ । विवाद उग्र बनिरहँदा नेकपाभित्र बहुमतको खेल सुरु भएको छ ।
दुबै अध्यक्ष आफू तर्फ बहुमत पुराउनका लागि कसरत गरिरहेका छन् । दुबै पक्ष अहिले केन्द्रीय समिति र संसदीय दलमा बहुमतका लागि जोड घटाउ गरिरहेका छन् ।