महोत्तरी । बलात्कारको आरोप लागेका महोत्तरीको भङ्गाहा नगरपालिका–९ का वडासचिव मिथिलेश यादव पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
हिजो महोत्तरी जिल्ला अदालतमा भएको प्रारम्भिक सुनवाइमा न्यायाधीश दुर्गा गुरुङको आदेशले यादवलाई पुर्पक्षका लागि थुनामा राख्न कारागार पठाइएको हो।
भङ्गाहा–९ कै बासिन्दा वडासचिव यादव आफ्नै वडा बस्तीकी एक महिलालाई बलात्कार गरेको आरोपमा गत असोज १४ गते पक्राउ परेका थिए। सो दिन भट्टीमा मदिरा खाएर मातेका यादव घर जाँदै गर्दा बाटोमा भेटिएकी महिलामाथि जाइलागेर बलात्कार गरेको उनीमाथि आरोप छ।
जिल्ला प्रहरी कार्यालयले दर्ता गरेको जबर्जस्ती करणी मुद्दाको सुनवाइमा अदालतले पुर्पक्ष थुनाको आदेश गरेको हो। यादवलाई सोमबार साँझ नै महोत्तरी कारागार चलान गरिएको हो।