काठमाडौं । आज नवरात्रीको सातौं दिन अर्थात फुलपाति । घरघरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याइएको छ । काठमाडौंको दशैं घरमा पनि विधिपूर्वक फूलपाती भित्र्याइएको छ ।
गोरखाबाट पठाइएको फुलपाती लिन गुरुजुको पल्टन सहितको लावालस्करले जमलमा पुगि डोलामा राखि फूलपाती हनुमान ढोका ल्याएका थिए । फूलपातीमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको पूल, मान वृक्ष र अन्य मौसम अनुसारका फूलहरु समावेस गरिएको हुन्छ ।
लावालस्कर सहित डोलामा ल्याइएको फूलपातीलाई अपरान्हको साइतमा दशैं घरमा भित्र्याइएको हो । दशैं घरमा आज भित्र्याइएको फूलपाती दशमीको दिन टिका जमरासँगै देवीको प्रसादको रुपमा ग्रहण गर्ने परम्परा छ ।
यस्तै, नवरात्रिको सातौँ दिन सैनिक मञ्च टुँडिखेलमा आज फूलपाती बढाइँ कार्यक्रम सम्पन्न भएको छ । तर अघिल्ला वर्षहरूमाझैं तामझामसहित नभएर सामान्य रूपमा फूलपातीको बढाइँ गरिएको छ ।

कोभिड–१९ को सङ्क्रमणबाट सिर्जित परिस्थितिका कारण हर्षोल्लासका साथ नभई धर्म, संस्कृति र परम्परालाई जीवन्तता दिन प्रतीकात्मक रूपमा मात्र बढाइँ गरिएको हो ।
बढाइँ कार्यक्रममा नेपाली सेनाले राइफल र तोपका साथ मार्चपास गरेको थियो । अघिल्ला वर्षका बढाइँमा पूर्व,पश्चिम र दक्षिणपाटाबाट ८४÷८४ जनाको गुल्मले बढाइँ गर्थ्यो भने यस पटक सामाजिक दूरी कायम गरी २५÷२५ जनामा सीमिति गरिएको छ ।

विगतमा सेनाबाहेक १ हजार २ सयको सङ्ख्यामा विभिन्न क्षेत्रका मानिसलाई आमन्त्रण गर्ने गरिएकामा यस पटक सेनासहित पाहुनाको सङ्ख्या सय जनामा सीमित गरिएको थियो ।
