काठमाडौं । पूर्वमन्त्री डा. डम्बरनारायण यादवको ८६ वर्षका उमेरमा आज निधन भएको छ । महादेवा गाउँपालिका–३ बथनाहा निवासी डा यादवको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको हो ।
काठमाडौँमा बसोबास गर्दै आएका डा. यादव एक महिनाअघि बथनाहास्थित घरमा गएर बस्नुभएको थियो । उहाँ चार दिनअघि अचानक बेहोश भएपछि उपचारका लागि अस्पताल लगिएको थियो ।
केही वर्षअघि मुटुको बाइपास सर्जरी गराएका डा. यादवको मस्तिष्काघातका कारण निधन भएको अस्पतालले जनाएको छ । यादव २०३६ साल जेठ १८ गते तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा नेतृत्वको मन्त्रिमण्डलमा शिक्षा राज्यमन्त्री हुनुहुन्थ्यो ।
यसैगरी २०४० साल असार २९ गते लोकेन्द्रबहादुर चन्द नेतृत्वको मन्त्रिमण्डलमा उनी स्वास्थ्यमन्त्री रहनुभएको थियो । प्रजातन्त्र स्थापनापछि नेपाल सद्भावना पार्टीमा सक्रिय डा. यादव मधेशी नागरिक समाजका अध्यक्षको हैसियतमा सामाजिक कार्यमा संलग्न रहनुभएको थियो । यादवका एक छोरा र एक छोरी छन् ।