काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कात्तिक ३ गतेदेखि काठमाण्डौ उपत्यकामा खसी बोका बिक्री सुरु गर्ने भएको छ ।कम्पनी को थापाथलीमा रहेको प्रादेशिक कार्यालय परिसरबाट कात्तिक ३ गतेदेखि दशैँका लागि खसी बोका बिक्री वितरणको काम सुरु हुने भएको हो ।
कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको दशैँमा खसी, बोका र च्याङ्ग्रा बिक्री गर्दै आएको छ । तर यसपटक प्राविधिक कठिनाइले गर्दा मुस्ताङबाट च्याङ्ग्रा ल्याउन नसकिएको कम्पनीले बताएको छ ।
यस्तै दुई हजार खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने योजना रहे पनि आयातमा कठिनाइ हुँदा केही सङ्ख्यामा खसी र बोका मात्रै बिक्रीमा राखिने कम्पनीका वाग्मती प्रदेश कार्यालयका प्रमुख पवित्र गौतमले बताउनुभयो ।
यस वर्ष तुलसीपुर, दाङ र हेटौँडाबाट एक हजार वटा खसी बोका ल्याइएको उहाँले बताउनुभयो । कम्पनीले यसअघि दशैँको लागि एक हजार वटा खसी बोका र १ हजार वटा च्याङ्ग्रा बिक्री गर्ने बताएको थियो । तर कोराना भाइरसको सङ्क्रमणले गर्दा बजारमा आमउपभोक्ताको क्रयशक्ति घटेको अनुमान गरिएकाले यस वर्ष कम आपूर्ति गर्न लागिएको गौतमले बताउनुभयो ।
पहिलो चरणमा एक हजार सङ्ख्यामा खसी बोका ल्याइ बिक्रीमा राखिने र माग बढ्दै गए बजारलाई सन्तुलित राख्न थप आयात गर्न सकिने उहाँले बताउनुभयो । यस वर्ष कम्पनीले खरिद गर्दा नै खसी बोकाको मूल्य गएको वर्षभन्दा ४० रुपैयाँ बढी परेकाले अघिल्लो वर्षभन्दा केही बढी मूल्य कायम हुन सक्ने गौतमले बताउनुभयो ।
मूल्य निर्धारण भने आइतबार साँझ मात्रै तय हुने छ । कम्पनीले गएको वर्ष जिउँदो खसीको मूल्य प्रतिकिलो पाँच सय ६० रुपैयाँ निर्धारण गर्दै बिक्री वितरण सुरु गरेको थियो ।