काठमाडौं । सुदूरपश्चिमको पहाडी जिल्लामा नियमित उडान भर्ने योजना बनाएको समिट एयरको टुइन अटर बिमान आज बझाङ पुगेको छ । कैलालीको धनगढी विमानस्थलबाट समिट एयरको ९ एन—एकेजेड विमान १६ जना यात्रु बोकेर बझाङ पुगेको हो ।
बझाङबाट पनि १६ जना यात्रु बोकेर उक्त विहान धनगढी फर्केको छ । २०३५ सालमा धुले धावनमार्गमा हवाई उडान सुरु भएको बझाङ विमानस्थल २०६६ सालदेखि पूर्ण रुपमा बन्द थियो । द्वन्द्वकालमा समेत नियमित उडान भइरहेको बिमानस्थलमा शान्ति स्थापना भएसंगै यात्रुहरुको संख्या घटेको कारण देखाउँदै नेपाल वायुसेवा निगमले उडान बन्द गरेको थियो ।
पछिल्लो समय पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले धावनमार्ग कालोपत्रे गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराई नेतृत्वको टोलीले असोज १६ गते विमानस्थलको निरीक्षण र परीक्षण उडान गरेको थियो ।
परीक्षण उडान सफल भएपछि आजदेखि नियमित उडान सुरु भएको छ ।