चितवन । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा एउटा गैंडा मृत अवस्थामा फेला परेको छ । निकुञ्जको मुख्य क्षेत्र मानिने पश्चिम सेक्टरअन्तर्गत नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० को विनयीत्रिवेणी गाउँपालिकास्थित भेलौजीमा हिजो साझँ सडेको अवस्थामा एउटा मृत गैँडा फेला परेको हो ।
करिब ३०–३५ वर्षको भाले गैँडा कठौनास्थित नारायणी नदी किनारमा मृतावस्थामा फेला परेको निकुञ्जले जनाएको छ । मृतक गैँडाको प्रकृति हेर्दा करिब एक महिना अगाडि मरेको हुनसक्ने निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी अशोक रामले बताउनुभयो ।
सडेको अवस्थामा भेटिएको मृत गैँडा अर्को भाले गैँडासँग जुधेर घाइते भएपछि मरेको हुन सक्ने अनुमान छ । मृत गैँडाको खाग र खुर भने सुरक्षित रहेको बताइएको छ । चालू आर्थिक वर्ष २०७७ र ७८ को साउनयता निकुञ्जमा नौवटा गैँडाको मृत्यु भइसकेको छ भने असोज महिनामा मात्रै छ वटा गैँडा मृत भेटिएका छन् ।
गैँडाको प्राकृतिक मृत्युदर बढ्न थालेपछि यसबारे अध्ययन गर्ने तयारी भइरहेको निकुञ्जका सूचना अधिकारी रामले बताउनुभएको छ ।