काठमाडौ । विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा उपस्थित भएका सात जनालाई विना तारेख रिहा गर्ने आदेश दिएको छ । विशेषका न्यायाधीश शिवराज अधिकारी र बालेन्द रूपाखेतीको इजलासले हिजो ७ आरोपीलाई तारेखमा समेत नराख्ने गरी रिहा गर्न आदेश जारी गरेको हो ।
तारेखमा नराख्ने गरी रिहा हुनेमा शर्मिला शाक्य ९बज्राचार्य०, रेणुका बज्राचार्य, प्रविन ताम्राकार, अच्युतराज राज श्रेष्ठ, सरिता मानन्धर ९श्रेष्ठ०, सध्या शाक्य र गीता खनाल छन् । अख्तियारले उनीहरूको नाममा रहेको ललिता निवास जग्गालाई जफत प्रयोजनका लागि विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । सार्वजनिक जग्गा व्यक्तिको बनाएर भ्रष्टाचार गरेको प्रकरणमा हालसम्म ४५ जनाभन्दा बढी आरोपित अदालतमा हाजिर भइसकेका छन् ।
ललिता निवासको सो जग्गा उनीहरूले विभिन्न व्यक्तिसँग किनेका थिए । सरकारले अधिग्रहण गरेको ललिता निवासको २ सय ८४ रोपनी जग्गामध्ये १ सय १२ रोपनी जग्गा व्यक्तिका नाममा दर्ता गरी हिनामिना गरिएको निष्कर्षसहितको छानबिन प्रतिवेदन एक सरकारी समितिले दिएपछि थप अनुसन्धान गर्न सरकारले संवैधानिक आयोग र नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोलाई निर्देशन दिएको थियो ।
सरकारले अधिग्रहण गरेको १ सय १२ रोपनी जग्गा पञ्चायतकालमा जफत भएको भन्ने अर्थ लगाई सुवर्ण शमशेरका सन्तानले २०४९ मा फिर्ता लगेका थिए । भूमाफियाको चलखेलमा २०६२, २०६७ र २०६९ मा गरी ललिता निवासको जग्गा अतिक्रमण भई व्यक्तिका नाममा दर्ता भएको थियो ।