काठमाडौं । कोरोना भाइरस महामारीपछि चीनसँगको सीमा नाका बन्द हुँदा हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा खाद्यान्न संकट भएको छ । सीमा नाका बन्द भए पनि नाम्खा गाउँपालिकाका नागरिकलाई खाद्यवस्तु बिक्री गर्दै आएका व्यापारीले सात महिनादेखि खाद्यान्न कारोबार गरेका छैनन् ।
व्यापारीले खाद्यान्न नपठाउँदा नाम्खा – ६ लिमीका तिल, जाङ र हल्जी गाउँमा भोकमारीको संकेत देखिएको छ । चीनसँग जोडिएको वडा –६ लिमी गाउँवासीले वर्षौँदेखि चीनका व्यापारीबाट खरीद गरी खाद्यान्न आयात गर्दै आएको स्थानीयवासी पेमाछ्योकी लामाले बताउनुभयो ।
वडाध्यक्ष पाल्जोर तामाङको नेतृत्वमा ११ जनाको टोली चामलको माग गर्दै लिमीबाट चार दिनको पैदल हिँडेर हुम्लाको सदरमुकाम सिमकोट आइपुगेको छ ।
लिमीबाट आएको टोलीले बिहीबार र शुक्रबार जिल्लाका राजनीतिक दलका नेता, सरकारी कार्यालयका प्रमुख तथा सरोकार पक्षसँग भेटघाट गरिसकेको छ । सबैलाई तत्काल खाद्यान्नको व्यवस्थाका लागि पहल गरिदिन आग्रह गरिएको वडाध्यक्ष तामाङले बताउनुभयो ।