काठमाडौं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई सत्ताच्युत गर्न आफ्नै पार्टीबाट अविश्वास प्रस्ताव परेसँगै त्यसको झट्का केन्द्रसम्म आइपुगेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सत्तासंघर्ष अल्पकालिन रुपमा टुङ्गिएको एक महिना पछि कर्णालीमा आन्तरिक विवाद विस्फोट भएको छ ।
यसै सन्दर्भमा छलफल गर्न आज नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपिशर्मा ओली र कार्यकारी अध्यक्ष पु्ष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता हुने भएको छ । मुख्य मन्त्रीविरुद्ध पहिलो पटक अविश्वासको प्रस्ताव दर्ताभएपछि बालुवाटारमा दुई अध्यक्षबीच छलफल हुन लागेको हो ।
नेकपाको शिर्ष राजनीतिक नेतृत्वको बीचमा पनि यसबिषयमा औपचारिक तथा अनौपचारिक बहस सुरु भएको छ । संघीय सरकारमा मन्त्रिपरिषद पुनर्गठन, राजनीतिक तथा संवैधानिक नियुक्ती र पार्टी एकताका बाँकी काम टुङ्ग्याउन नपाउँदै आएको यस विवादले स्थायी कमिटि बैठकले जोडेको एकता भत्काउने प्रयास सुरु गरेको कर्णालीका एक नेकपा नेताको भनाई छ ।