काठमाण्डौ । ‘हाम्रो पहल : दिगो कृषि, पोसिलो आहार’ नाराका साथ यस वर्ष ४० औं विश्व खाद्य दिवस सप्ताहव्यापी रुपमा मनाइने भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको कृषि विभाग र कृषिका लागि खाद्य अभियानको सहकार्यमा आजदेखि सप्ताहव्यापी कार्यक्रम गरिने भएको छ ।
कार्यक्रममा कृषि प्रविधि र प्रयोग, रैथाने खाना, पर्यटनका साथै कोरोनाका कारण कृषि क्षेत्रमा परेको प्रभाव लगाएतका बिषयमा छलफल हुने वताइएको छ ।
सन् २०१५ मा भएको संयुक्त राष्ट्र संघको दिगो विकास सम्मेलनमा १ सय ९३ देशले आउँदो १५ वर्षभित्र भोकमरी अन्त्य गर्न शून्य भोक अभियान चलाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
त्यसको दुई महिनापछि फ्रान्सको राजधानी पेरिसमा भेला भएका १ सय ९५ देशका उच्चस्तरीय प्रतिनिधिहरूले खाद्य सुरक्षा विश्वको मुख्य प्राथमिकता रहेको र जलवायु परिवर्तनको असर घटाउँदै सन् २०३० सम्ममा शून्य भोक बनाउन प्रतिबद्धता जनाएका थिए ।