काठमाडौं । सरकारसंग सहमती भएसंगै अनसनरत डाक्टर गोविन्द केसीले आज अनसन तोड्दै हुनुहुन्छ । चिकित्सा क्षेत्र सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसी र सरकारबिच आठ बुँदे सहमति भएको छ ।
हिजो मध्य रातमा भएको सहमतिसंगै डा. केसीले २७ औँ दिनमा अनशन तोड्न सहमत हुनुभएको हो । उहाँले विहान साँढे नौ वजे अनसन तोड्ने डा.केसीका सहयोगी प्रितम सुबेदीले जानकारी दिनुभयो ।
चिकित्सा क्षेत्रको सुधारको माग गर्दै केसीले १९ औँ पटकको अनसन जुम्लाबाट सुरु गर्नुभएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई नेपालगञ्ज हुँदै काठमाडौँ ल्याइएको थियो ।
डा.केसी र सरकारबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार एवम् जनशक्तिको प्रबन्ध गरी आउँदो शैक्षिक सत्रदेखि एमबिबिएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने, पिसिआर परीक्षण बढाउने तथा कोभिड–१९ तथा अन्य रोगको उपचारका लागि सरकारी अस्पतालको क्षमता बिस्तार गर्ने, अछामको बयलपाटा अस्पतालमा निःशुल्क स्वास्थ्य सेवा दिन बजेट व्यवस्था गर्ने लगायतका सहमति भएको छ ।