काठमाडौं । उपत्यकामा चाडपर्वलाई लक्षित गरी ‘विशेष सुरक्षा योजना’लागू गरिने भएको छ । चाडपर्व नजिकिंदै गर्दा आपराधिक घटना बढ्ने भएकाले उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायले चाँडै नै विशेष सुरक्षा योजना लागू गर्ने भएका हुन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले चाँडै नै सरक्षा योजना कार्यान्वयनमा ल्याउने जानकारी दिनुभयो । दशैमा आपराधिक घटना बढी हुने सम्भावना भएकाले सरकारले विशेष सुरक्षा योजनालागू गर्न थालेको हो ।
दशैमा सर्वसाधारण लाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउने प्रतिबद्धता व्यक्त गर्दै बजार, यात्रा र वितरणमा सुशासन ल्याउनका लागि अनुगमन लाई तीव्रता दिइने प्रमुख जिल्ला अधिकारी दाहालले बताउनु भएको छ ।
यस्तै काठमाडौं प्रहरी परिसरका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीले काठमाडौं उपत्यकामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना तयार पारी कार्यान्वयनमा ल्याउन थालिएको बताउँदै सुरक्षा व्यवस्थालाई अझ बढी सबल र सुदृढ बनाउन बढी भीडभाड हुने बजार र वित्तीय क्षेत्र लगायत स्थानमा सादा पोशाकका प्रहरी परिचालन गर्ने जानकारी दिनुभएको छ ।