काठमाडौं । चाडपर्वलाई लक्षित गरी प्रहरीले सुरक्षा सक्रियता र निगरानी बढाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतले सम्भावित जोखिम क्षेत्रको पहिचान गर्दै मातहतका प्रहरी कार्यालयले उच्च निगरानी बढाएको जानकारी दिनुभयो ।
उहाँकाअनुसार मुख्यगरी खाद्य वस्तुमा कालोबजारी हुने, अखाद्य वस्तुलाई विक्री वितरण गर्ने, मिति सकिएका वस्तुमा नयाँ मिति राखेर विक्री गर्ने तथा कानुन विपरितका कार्य गर्न सक्ने भएकाले त्यसतर्फ प्रहरीले निगरानी बढाएको छ । यस्तै चोरी, तस्करी र आपराधिक गतिविधिसमेत हुन सक्नेतर्फ पनि प्रहरीले थप सुरक्षा सतर्कता बढाएको छ ।
महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले मातहतका कार्यालय प्रमुखलाई अवैध गतिविधि नियन्त्रणमा सक्रिय हुन निर्देशन दिइएको जानकारी दिनुभयो । प्रहरीले चाडपर्वलाई लक्षित विशेष सुरक्षा योजना लागू गरेर सुरक्षा चुस्त पार्ने तयारीसमेत थालेको छ । सम्भावित जोखिम क्षेत्रमा प्रहरी टोली परिचालन गर्न शुरुआत समेत गरिएको छ ।