काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमी लगायत दसैंका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीहरुको महान् चाड बडादसैं शुरु हुँदैछ ।
दुर्गा पक्षसमेत भनिने दसैंको पहिलो दिन वैदिक सनातन धर्मावलम्बीले घरघरमा दियो, कलश र गणेश स्थापना गरी विशेष पूजासहित घटस्थापना गर्छन् । घटस्थापनाको साइत कात्तिक १ गते शनिबार बिहान ११ः४६ बजे शुभ रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनु भयो ।
घटस्थापना गरिएको कलशको मुखमा नवदुर्गालाई आह्वान गरी नौ रात १० दिनसम्म विधिपूर्वक पूजा आराधना एवं दुर्गा सप्तशती चण्डी, देवीभागवत्, देवी स्तोत्रलगायत देवीको महिमागान गाइएका श्लोक वाचन एवं पाठ गरिन्छ ।
देशभरका शक्तिपीठमा घटस्थापनाकै दिनदेखि विशेषरूपमा भक्तजनको भीड लाग्ने भएपनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले भौतिक दूरी कायम गरी दर्शन गर्नुपर्ने अवस्था छ ।
कात्तिक २ गते आइतबार बिहान १०ः५३ बजे पश्चिम फर्केर झण्डा फेर्ने साइत दिइएको छ । कात्तिक ८ गते शनिबार महाअष्टमी पर्व मनाइन्छ । यस दिन बलि दिनेले बलिसहित देवीको पूजा आराधना गर्छन् । दसैंको मुख्य दिन कात्तिक १० गते सोमबार विजयादशमी पर्व परेको छ ।
यस दिन बिहान नौ रात १० दिन पूजा गरिएको स्थलमा देवी विसर्जनका लागि बिहान १०ः११ बजेको साइत शुभ रहेको समितिका अध्यक्ष गौतमले बताउनु भयो । विजयादशमीमा साइत नै खोजेर टीका लगाउनेका लागि भने बिहान १०ः१९ बजेको साइत उत्तम रहेको छ ।