काठमाडौं । कमजोर बनेको मौसम नेपालबाट बाहिरिन केही दिन लाग्ने भएको छ । आज पश्चिम नेपालबाट मनसुन बाहिरिने अनुमान मौसमविद्ले गरेका छन् । तर, देशभरबाटै बाहिरिन भने अझै केही दिन लाग्नेछ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी नेपालबाट प्रवेश गर्ने मनसुन पश्चिमसम्म फैलिएर झण्डै साढे ३ महिना सक्रिय हुन्छ । मौसम पश्चिमबाट पूर्व हुँदै नेपालबाट बाहिरिन्छ । सामान्यतया जुन १० तारिखमा पूर्वी नेपालबाट प्रवेश गर्ने मनसुन सेप्टेम्बर २३ मा बाहिरिनुपर्ने भएपनि केही वर्ष यता ढिला प्रवेश गरी ढिला नै बाहिरिने गरेको छ ।
बंगालको खाडीमा बनेको न्यून चापिय क्षेत्रको प्रभावले बिहीबार देशभरका केही ठाउँमा हल्का पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का थोरै तथा अरु प्रदेशका एक दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । अहिले देशभरकै मौसममा सामान्य बदली भएको छ ।