काठमाडौं । सरकारले नेपालमा पदयात्रा र पर्वतारोहण गर्न आउने विदेशीलाई भिसा दिने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पदयात्रा र पर्वतारोहण गर्न नेपाल आउने विदेशीले भिसा पाउने निर्णय गरेको हो ।
तर नेपाल आउनु ७२ घण्टाअघिको पीसीआर नेगेटिभ रिपोर्ट भने हुनुपर्नेछ । यस्तै कम्तीमा सात दिन क्वरेण्टीनमा रहने गरी नेपालमा होटल बुकिङ गरेको हुनुपर्ने सर्त राखिएको छ । क्वरेण्टीनमा बसेको पाँचौ दिन आफ्नै खर्चमा पीसीआर परीक्षण गर्नुपर्ने पनि सर्तमा उल्लेख गरिएको छ ।
रिपोर्ट पोजेटिभ आएमा नेगेटिभ नआउञ्जेल होटल क्वरेण्टीनमै बस्नुपर्नेछ । यस्तै आरोहण गर्न आउने विदेशीले पाँच हजार डलर बराबरको र नेपाली सहयोगीको एक लाख रुपैयाँको कोरोना बीमा गरेको हुनुपर्नेछ ।