काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रकाशन अब सातै प्रदेशमा पुग्ने भएका छन् । प्रज्ञा–प्रतिष्ठानले आफ्ना प्रकाशन मुलुकका सातै प्रदेश र विदेशमा बिक्री गर्नसक्ने सञ्जाल बनाएको छ ।
आधिकारिक बिक्रेता छनोटका लागि २०७७ साउन २२ गते प्रथम पटक र भदौ २६ गते दोस्रो पटक गोरखापत्र राष्ट्रिय दैनिकमा सार्वजनिक सूचना मार्फत बोलपत्र आह्वान गरेको थियो ।
निर्धारित सर्तका अधिनमा रही पुस्तक तथा पत्रपत्रिका वितरण गर्न तयार भएका बोलपत्र दाता मध्ये मकालु प्रकाशन गृहको बोलपत्र रित पूर्वक हुन आएकाले स्वीकृत भई सम्झौता भएको छ ।
सम्झौतापत्रमा नेपाल प्रज्ञा–प्रतिष्ठानका तर्फबाट सदस्य–सचिव जगतप्रसाद उपाध्याय र मकालु प्रकाशन गृहका तर्फबाट प्रबन्ध निर्देशक वासुदेव ढकालले हस्ताक्षर गर्नु भएको छ ।
उपाध्यायले प्रज्ञा–प्रतिष्ठानको प्राज्ञिक गौरवका रूपमा रहेका नेपाली बृहत् शब्दकोशका साथै भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र, सामाजिक शास्त्रलगायत विषयसँग सम्बद्ध ग्रन्थ र पत्रपत्रिकालाई मकालु प्रकाशन गृहले देशका सबै प्रदेश अन्तर्गत रहेका जिल्ला र विदेशमा समेत पु¥याउनेमा प्रज्ञा–प्रतिष्ठान विश्वस्त रहेको बताउनु भएको छ ।