काठमाडौं । कोरोना संक्रमितहरू निको भएर घर फर्कने क्रम बढ्दै गएको छ । पछिल्लो एक साताको तथ्यांकलाई आधार मान्दा ८९ प्रतिशत संक्रमित निको भएर घर फर्किएका छन् ।
गत ३ असोजदेखि हिजो सम्म ९ हजार २१ जना संक्रमित थपिएकामा ८ हजार ४६ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हिजो १ हजार ३ सय १३ जनामा संक्रमण पुष्टि भएकामा १ हजार ४ सय ५५ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै, हालसम्म ७३ प्रतिशत कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म पुष्टि भएका ७० हजार ६ सय १४ जना संक्रमित मध्ये ५१ ह्जार ८ सय ६६ जना संक्रमणमुक्त भइसकेका छन् ।
देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २ सय ८९ जना रहेको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या ४ सय ५९ पुगेको छ ।
नेपालमा कोरोनाका कारण हुने मृत्युदर शून्य दशमलव ६५ प्रतिशत रहेको छ ।
यस्तै, देशभर २ सय ६६ जना कोरोना संक्रमित विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् ।