म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ जलथले र वडा नम्बर ४ कोप्चेपानीका २६ घर पहिरोको उच्च जोखिममा परेका छन् । विगत तीन दिनदेखि परेको अविरल वर्षाका कारण बस्तीमाथिबाट पहिरो जान थालेपछि उक्त बस्तीका २६ घर जोखिममा परेका हुन् ।
उच्च जोखिममा रहेका घरका परिवारलाई सुरक्षित स्थानमा सारिएको गाउँपालिकाका अध्यक्ष डमबहादुर गर्बुजा पुनले जानकारी दिनुभयो ।
उहाँका अनुसार कालीगण्डकी नदीको कटान तथा बस्ती माथिबाट खसेको पहिरोको कारण कोप्चेपानीका २३ र जलथलेका तीन घर उच्च जोखिममा रहेका छन् ।
कोप्चेपानीका बस्ती नै पहिरोको उच्च जोखिममा रहेकाले स्थानान्तरणका लागि वडा नम्बर ४ कोे भलाममा जग्गा खोजीको तयारी थालेको उहाँले बताउनुभयो ।