logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

पहिरोका कारण पूर्णरुपमा क्षति घरको पुनर्निर्माण गाउँपालिकाले गरिदिने

पहिरोका कारण पूर्णरुपमा क्षति घरको पुनर्निर्माण गाउँपालिकाले गरिदिने


  • बिहिबार, साउन २३ २०७६

  • बागलुङ, २३ साउन :तमानखोला गाउँपालिका–४ लाम्मेलामा पहिरोका कारण पूर्णरुपमा क्षति भएका घरको पुनर्निर्माण गाउँपालिकाले गरिदिने भएको छ ।

    आज बसेको गाउँ कार्यपालिका बैठकले उक्त निर्णय गरेको अध्यक्ष जोकलाल बुढाले बताउनुभयो । “अन्यत्रबाट स्रोत जुटाएर भए पनि यही वर्षभित्र पहिरोपीडितका घर बनाउने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो ।

    आइतबार गएको पहिरोले पाँच घर पूर्णरुपमा क्षतिग्रस्त बनेका छन् भने तीन घरमा आंशिक क्षति पुगेको छ । आंशिक क्षतितर्फ दुई घरलाई जनही दश हजार र बाँकी एक घरलाई रु पाँच हजार राहत रकम उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ ।

    पहिरोले ओमबहादुर, शुभलाल, गमबहादुर, देवेन्द्र र बिर्ख श्रीपालीको घर पूर्णरुपमा क्षतिग्रस्त बनेको छ भने कृष्णबहादुर, हेमलाल श्रीपालीलगायतको घरमा आंशिक क्षति पुगेको छ । अन्य छ घर पहिरोको जोखिममा छन् ।

    यस्तै गाउँपालिकाले पहिरोमा परी ज्यान गुमाउने तीन जनाको परिवारलाई जनही रु एक लाखका दरले राहत रकम उपलब्ध गराउने भएको छ । घाइते तीन जनालाई जनही रु ५० हजार र सामान्य घाइते चार जनालाई जनही रु २० हजारका दरले राहत उपलब्ध गराउने निर्णय भएको अध्यक्ष बुढाले बताउनुभयो ।

    पहिरोमा परी स्थानीयवासी ४५ वर्षीया पञ्चकुमारी, ७० वर्षीया असरी र १२ वर्षीय प्रवीण श्रीपालीको ज्यान गएको थियो । गम्भीर घाइते हुनुभएका ओमबहादुर, राम र अनिल श्रीपालीको पोखरास्थित गण्डकी क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

    पहिरोपीडित परिवारको राहतका लागि गाउँपालिकाको जनप्रतिनिधिहरुले एक महीनाको र कर्मचारीले पाँच दिन बराबरको तलबसमेत उपलब्ध गराउने भएका छन् । “विस्थापित परिवारलाई तत्कालै सुरक्षित ठाउँमा सारेका छौँ”, अध्यक्ष बुढाले भन्नुभयो, “पीडितको राहत र पुनस्र्थापनमा गाउँपालिकाले सघाउँछ ।”

    सम्पत्ति क्षतिका आधारमा थप राहत रकम उपलब्ध गराउने योजना गाउँपालिकाको छ । पहिरोपीडित परिवारको राहतका लागि अभियानसमेत चलाइएको छ । रासस


    सम्बन्धित समाचार थप

    लोकप्रिय