हालै संयुक्त राष्ट्र जारी गरेको एउटा रिपोर्ट अनुसार वाशिन्टन पोस्टका पत्रकार जमाल खशोग्जीको हत्यामा साउदी अरबका युवराज मोहम्मद बीन सलमान र उनको परिवारको हात थियो ।
संयुक्त राष्ट्र संघले अमेरिकालाई यस मामिलाको जाँच उसको अनुसन्धान एजेन्सी एफबीआईमार्फत गराउन अनुरोध गरेको छ । तर, यस मागलाई ट्रम्पले खारेज गरिदिएका छन् ।
अमेरिका विश्वका कयैन देशको लोकतन्त्र र मानव अधिकारको अवस्थालाई लिएर आक्रमक रहन्छ । तर, साउदी अरुबको कुरामा भने ऊ चुप हुन्छ ।
के साउदी अरबलाई अन्तर्राष्ट्रिय कानुन नलाग्ने हो ? साउदी अरबलाई कुनै अन्तर्राष्ट्रिय कानुनको डर नभएकै हो ?
यी प्रश्नको जवाफ अमेरिकालाई राम्ररी थाहा छ । दुई वर्ष पहिले साउदी अरबले कतारविरुद्ध नाकाबन्दी लगाएर सम्पूर्ण राजनीतिक सम्बन्ध तोड्दा संयुक्त अरब एमिरेट, बहराइन, इजिप्ट, माल्दिभ्स, मोरिटोनिया, कोमोरस, यमनको निर्वासित सरकार र लिबिया साउदीसँगै उभिए ।
साउदी अरब आफूलाई मध्य–पूर्वको एक मात्र क्षेत्रीय शक्ति ठान्छ । साउदी अरब खाडी क्षेत्रका सम्पूर्ण देश, अझ सुन्नी बहुल देश, आफू अन्तर्गत काम गरुन् भन्ने चाहन्छ ।
कतारले साउदी अरबको विचारलाई खुरुखुरु नमान्दा उविरुद्ध नाकाबन्दी लाग्यो । कतारविरुद्धको नाकाबन्दी आजसम्म जारी छ । हुनतः साउदी अरबको असली निशाना कतार नभएर इरान हो । साउदी अरब सिया बहुल इरानलाई क्षेत्रीय शक्ति हुने सपनातर्फ प्रमुख अवरोध मान्छ ।
साउदी मध्य–पूर्वको क्षेत्रीय शक्ति बन्ने कोशिस गरिरहँदा उसले लिएका कयैन कदमले उल्टो असर गरेका छन् । यो कतारकै सन्दर्भमा पनि देखिन्छ ।
एकातर्फ साउदी अरबको नाकाबन्दीले कतारलाई कुनै असर गरेन, तर साउदीले एउटा समृद्ध मित्र गुमाएको छ ।
साउदी अरबले देशमा रहेको विशाल तेल र प्राकृतिक ग्यास भण्डारबाट समृद्धि हासिल गरेको कुरा जगजाहेर छ । यही बलको आधारमा साउदी क्षेत्रीय शक्ति बन्ने तर्फ अघि बढिरहेको छ ।
रक्षामा खर्च गर्ने तेस्रो ठूलो देश
आफ्नो विशाल धनलाई साउदीले सैन्य बल मजबुद बनाउन प्रयोग गरिरहेको छ ।
स्टकहोम इन्टरनेशनल पीस रिसर्चका अनुसार सन् २०१७ मा साउदीले रक्षामा ७० अर्ब अमेरिकी डलर खर्च गर्यो । देशको कुल ग्राहस्थ उत्पादनको १० प्रतिशत खर्च गरेको साउदी रक्षामा सबैभन्दा धेरै खर्च गर्ने तेस्रो मुलुक बनेको छ ।
साउदी अरब यसको साथै ओपेक र गल्फ कोअपरेशन काउन्सिलमा पनि प्रभावशाली छ । अझ उसको रणनीतिक मित्र हो, संसारको सबैभन्दा शक्तिशाली देश अमेरिका ।
यो सम्बन्धलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले टेलिभिजिन च्यानल एनबीसीलाई दिएको अन्तरवार्ताबाट पनि प्रष्ट हुन्छ । अन्तरवार्तामा ट्रम्पले साउदी अरबको हतियार सम्झौता उनको लागि लोकतन्त्र र मानव अधिकारभन्दा बढी महत्त्व राख्ने बताएका थिए । जमाल खशोग्जीको हत्याबारे सबाल उठिरहँदा ट्रम्पको उक्त भनाई आएको हो ।
एक समय यस्तो थियो जब साउदी अरब आफ्नो शक्ति प्रदर्शन गर्नको लागि मित्र देश, मुस्लिम नेता र मिडिया घरानामाथि पैसा खन्याउने गथ्र्यो । तर, मोहम्मद बीन सलमान युवराज भएदेखि उनले आफ्ना आलोचक र शत्रुलाई सजाय दिन पनि ठूलो रकम प्रयोग गरिरहेका छन् ।
बीन सलमानको कुटनीतिमा सुझ बुझभन्दा पनि बढी जिद्दीपन हावी हुने बताइन्छ । यही कारणले यमन युद्ध मैदानमा परिणत भएको छ ।
‘भ्यालेन्टाइन डे’को दिन गाँसिएको त्यो सम्बन्ध
इन्टरनेशनल ट्राइब्यूनल्स अफ ट्रुथ एण्ड रिकन्सिलिएशन कमिशनले संसारभरीको तानाशाही शासन र तिनका भ्रष्ट नेताको लेखा जोखा राख्ने गर्छ । तर यी संस्थानमा साउदी अरब कहिले समावेश भएन ।
सन् १९३८ मा साउदी अरबमा विशाल तेल भण्डार भेटिएपछि त्यहाँको शासकले ठूलो शक्ति हासिल गर्यो ।
यो शक्तिमार्फत विश्व अर्थव्यवस्था स्थिर राख्न अथवा तोडमोड गर्न सकिन्छ । यो तागतको कारण अमेरिका समेत पूरा पश्चिमी राष्ट्र र संयुक्त राष्ट्रले पनि साउदीको हरेक जिद्दीपनलाई सहेको छ ।
साउदी अरबले आफ्नो देशभित्र मानव अधिकारलाई वेवास्ता गरेको मात्र होइन देश बाहिर पनि उग्रवादी इस्लामिक समूह तालिबान, नुसरा फ्रन्ट र सिरियामा सक्रिय अल–कायदालाई आर्थिक सहयोग पु¥याइएको आशंका गरिएको छ ।
यी सबको बदलामा साउदी अरबले अमेरिकाको कयैन खालको सुविधा दिएको छ । साउदीले अमेरिकाको वायुसेनाको लडाकू विमानलाई संसारको सबैभन्दा महत्त्वपूर्ण क्षेत्रमा उडान भर्न अनुमती दिएको छ । साथमा अमेरिकाको सैन्य उपकरणको लागि एक नाफा मुलक बजार पनि उपलब्ध गराएको छ ।
साउदी अरबमा अमेरिकी राजदूत रहिसकेका च्यास फ्रिम्यानले न्यूज वीकसँगको अन्तरवार्तामा भनेका थिए, ‘मानव अधिकार र अन्य लोकतान्त्रिक मूल्यको अमेरिका–साउदी सम्बन्धमा कुनै भूमिका छैन । प्रारम्भदेखि नै दुई देशको सम्बन्ध पारस्परिक हितबाट सञ्चालित हुँदै आएको छ ।’
अमेरिका र साउदी अरबको सम्बन्धको जग सन् १९४५ मा भ्यालेन्टाइन डेको दिन राखिएको थियो । यही दिन अमेरिकी राष्ट्रपति फ््रयालिन डी रुजबेल्ट र साउदी अरबका संस्थापक राजा अब्दुल अजीज इब्न साउदको स्वेज नहरमा अमेरिकी नाभिकको जहाजमा घेट भएको थियो ।
यो भेटघाटमा अब्दुल अजीज अमेरिकालाई साउदीको तेल सस्तोमा दिन सहमत भएका थिए । यस वापत रुजवेल्टले राजासँग साउदी अरबलाई बाह्य दुस्मनबाट बचाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
भ्यालेन्टाइन डेमा जोडिएको यो सम्बन्धले ६ वटा इजरायली–अरब युद्ध झेलिसक्दा पनि त्यसमा कुनै असर परेको छैन । यी युद्धमा दुई राष्ट्र अलग अलग पक्षमा उभिएका थिए । त्यस्तै सन् १९७३ को अरब तेल संकटमा पनि दुई देशको प्रेममा आँच आएन ।
‘तेलको बदला सुरक्षा’को समीकरण दुई देशबीच यो हदसम्म बलियो छ कि त्यसमा ९÷११ को आक्रमण र त्यसमा संलग्न अधिकांश साउदी नागरिक हुनुले पनि असर गरेन ।
सन् १९७३ को ठूलो विवादबाहेक दुई देशको सम्बन्धमा दुई पटक मात्र तनाव देखियो । ब्रकिंग्स इन्स्टीट्युशन र ‘किंग्स उड प्रेसिडेट्सः साउदी अरेबिया एण्ड द युनाइटेड स्टेट्स सिन्स एफडीआर’का लेखक राइडेल यसबारे भन्छन् ,‘सन् १९६२ मा राष्ट्रपपति जोन अफ केनेडीले तत्कालिन साउदी युवराज फैसललाई देशको दास प्रथा अन्त्य गर्नको लागि मनाउनु परेको थियो । दोस्रो पटक सन् २०१५ मा बाराक ओबामाले राजा सलमानलाई साउदी जेलमा बन्दी राइफ बदावीलाई तोकिएको हजार कोर्राको सजाय माफ गर्न गर्दा देखिएको थियो ।’
बदावीलाई ब्लग लेखेर इस्लामको बदनाम गराएको आरोपमा दस वर्षको जेल सजाय र हजार कोर्रा सजाय दिइएको थियो ।
अन्यथा सन् १९७७ देखि अमेरिकी विदेश मन्त्रालयले संसारभरीका देशको मानव अधिकार अवस्थाबारे वार्षिक रिपोर्ट बनाइरहँदा साउदी अरबबारे कहिले रिपोर्ट बनेन ।
ट्रम्पको शासनमा झनै घनिष्ट साउदी अमेरिका सम्बन्ध
ट्रम्पले त राष्ट्रपति भएपछिको आफ्नो पहिलो विदेश भ्रमणनै साउदी अरबबाट सुरु गरेका थिए । ट्रम्प अघिका अमेरिकी राष्ट्रपतिले छिमेकी क्यानडा र मेक्सिकोलाई पहिलो विदेश यात्राको गन्तव्य बनाउथे ।
ट्रम्पको शासनमा साउदी अरब र अमेरिकाबीचको घनिष्टता झनै बढेको छ । ट्रम्पका ज्वाइँ जेर्ड कशनर र साउदी अरबका युवराजबीच गहिरो सम्बन्ध छ ।
साउदी अरबको आक्रमकताबाट मध्य–पूर्वमा अमेरिकाको हित पनि प्रभावित भइरहेको छ । यमनमा साउदीको हवाई आक्रमणबाट आम नागरिक र बच्चा मरिरहेका छन् ।
यसमा अमेरिकाले साउदीलाई बेचेको हतियार प्रयोग भएको भनेर अमेरिको पनि छवि बिग्रिएको छ ।
अर्कोतर्फ कतारमा नाकाबन्दी लगाएर पनि साउदी अरबले अमेरिकालाई असहज पारिदिएको छ ।
मध्य–पूर्व क्षेत्रमा अमेरिकाको सबैभन्दा ठूलो सैन्य आधार कतारमा छ । साउदीको यस कदमबाट गल्फ कोअपरेशन काउन्सील पनि ध्वस्तजस्तै बनेको छ । तर यसका बावजुद अमेरिका साउदी सम्बन्ध सहज छ ।
NEWS BY SHITALNEWS.COM