हुम्लाका सुत्केरी आमाले मातृ शिशु मृत्युदर कम गर्न सुरू गरिएको ‘आमा सुरक्षा कार्यक्रम’ अन्तर्गत सुत्केरी प्रोत्साहन भत्ता विगत ६ महिनादेखि पाएका छैनन् । स्वास्थ्य संस्थामा सुत्केरी गराउन प्रोत्साहन स्वरूप र गर्भवती महिलाले चार पटक नियमित स्वास्थ्य परीक्षण गरे बापत पाइने भत्ता यहाँका सुत्केरी आमाले नपाएका हुन्
सरकारले सुत्केरीलाई दिने यातायात खर्च बापतको रकम दोब्बर बनाउने घोषणा गरे पनि त्यस अनुसार रकम विनियोजन नहुँदा ‘आमा सुरक्षा कार्यक्रम’ प्रभावित भएको छ । आर्थिक वर्ष २०७५÷७६ को बजेटमार्फत स्वास्थ्य संस्थाबाट गर्भवती जाँच सेवा लिने र स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाका लागि दिइने यातायात खर्च दोब्बर गर्ने घोषणा गरिएको छ ।
तर, यो घोषणा अनुसार रकम विनियोजन नहुँदा अस्पताल तथा स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाले पाउनुपर्ने यातायात खर्च (सुत्केरी भत्ता) पाउन नसकेका हुन् । खर्च दिन नसक्दा दूरदराजका गर्भवती महिलालाई स्वास्थ्य संस्थासम्म आउन र चिकित्सककै निगरानीमा सुत्केरी गराउन प्रेरित गर्ने कार्यक्रमको उद्देश्यसमेत प्रभावित बनेको छ ।
‘आमा सुरक्षा कार्यक्रम’अन्तर्गत चालू आर्थिक वर्षका लागि अर्थ मन्त्रालयबाट प्राप्त रु.६ लाख माघ महिनामै सकिएपछि दुई सय ५६ महिलाहरुलाई यातायात खर्च (सुत्केरी भत्ता) दिन नसकेको जिल्ला अस्पताल हुम्लाका प्रमुख डाक्टर दुर्गा सुर्खालीले बताउनुभयो । उहाँका अनुसार यहाँका अस्पतालबाट दिइने सुत्केरी भत्ता गत फागुनदेखि नै दिइएको छैन ।
अपुग रकमका लागि जिल्ला अस्पताल हुम्लाले प्रदेश सरकार र स्वास्थ्य विभागलाई अनुरोध गरेको छ । उक्त रकम प्राप्त भएपछि मात्र भत्ता उपलब्ध गराउने भन्दै हाललाई प्रसूति सेवा लिएका महिलाहरूको नाम टिपेर राखिएको बताउनुभयो । सुर्खालीले थप रकम उपलब्ध गराउन स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा र सुर्खाली प्रदेशको सामाजिक विकास मन्त्रालयमा पत्राचार गरे पनि त्यसको जवाफ नआएको उहाँको भनाइ छ ।
७ वटा गाउपालिका रहेको हुम्लामा प्रत्येक पालिकालाई रु ५ लाख र जिल्ला अस्पताललाई ६ लाख रकम पठाएको भएता पनि पालिकाहरुमा पुगेको तर जिल्ला अस्पतालमा भने ६ लाखले माघ महिनासम्म मात्रै भत्ता दिन पुगेको जिल्ला अस्पतालको प्रसुति केन्द्रकी सिनियर अनमी सरिता बोहोराले बताउनुभयो ।
विगतका वर्षहरुमा सबै बजेट जिल्लामा आएर जिल्लाबाट स्वास्थ्य संस्थामा पठाइन्थ्यो भने अहिले सीधै पालिकामा पाठाएको र जिल्ला अस्पताल हुम्लामा बिशेषज्ञ डाक्टरसहितको प्रसुति सेवा दिइने हुनाले गाउँ–गाउँबाट प्रसुति सेवा लिन आउने गरेका छन् । गत वर्षको साउनबाट असार १३ गतेसम्म जिल्ला अस्पताल हुम्लाको प्रसुति केन्द्रमा प्रसुति सेवा लिने आमाको संख्या ४ सय ६१ पुगेका छन् । जहाँ दुई सय ५ जनाले यातायात खर्च (सुत्केरी भत्ता) पाएका छन् । तर, बाँकी दुई सय ५६ जनाले अहिलेसम्म सुत्केरी भत्ता नपाएको अनमी बोहोराले बताउनुभयो ।
फागुन महिनादेखि असार १३ गतेसम्मका २ सय ५६ जना आमालाई ३ हजार ८ सयका दरले ९ लाख ७२ हजार ८ सय रुपैया रकम आवश्यकता पर्दछ । २०६५ सालदेखि लागू भएको यो कार्यक्रम अन्तर्गत गत वर्षसम्म हिमाली, पहाडी र तराईका सुत्केरी महिलालाई क्रमशः रु १ हजार ५ सय, रु १ हजार, रु ५ सय यातायात खर्च र गर्भवती महिलाले नियमित ४ पटक चेकजाँच गरे वापत रु ४ सय दिने व्यवस्था गरिएको थियो । त्यस्तै चालू आर्थिक वर्षबाट यो खर्च क्रमशः रु.३ हजार, रु.२ हजार, रु.१ हजार र गर्भवती महिलाले नियमित ४ पटक चेकजाँच गरे वापत रु ८ सय रुपैयाँ भत्ताको व्यावस्था गरिएको थियो ।
NEWS BY SHITALNEWS.COM